एक अंकले बढ्यो नेप्से, ३ अर्ब २२ करोडकाे कारोबार
मेयरसाप डेस्क
|
२०८२ पुष ९ गते १५:४८
काठमाडौं । धितोपत्र बजार परिसूचक नेप्से बुधबार सामान्य अंकले बढेर बन्द भएको छ । मंगलबारको वृद्धिलाई निरन्तरता दिँदै नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेको हो ।
बजार परिसूचक बढे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा कमी आएको छ । मंगलबार ३ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार ३३४ कम्पनीको ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
इन्फिनिटी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ५.३२ प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावर र हिम स्टार ऊर्जाको मूल्य ४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । ग्रामीण विकास लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।
एसवाई प्यानल नेपाल १४ करोड ४९ लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो । मञ्जुश्री फाइनान्सको साढे १२ करोडको सेयर किनबेच भयो ।
कुल १३ उपसमूहमध्ये बैंकिङ र बिमासहित ६ वटा समूह बढेका छन् भने विकास बैंक र जलविद्युतसहित ७ वटा समूह घटेका छन् ।
परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम घट्नुले लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिएको छ ।
Facebook Comments