ओलीलाई भेट्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल

User Image मेयरसाप डेस्क | २०८२ पुष ११ गते १२:३१
Image of https://mayorsap.com/storage/photos/shares/oli-kharel-sflfiokdr8.jpg

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन र समसामयिक राजनीतिक विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँगको भेटघाटलाई तीव्र पारेका छन् ।

यसै क्रममा शुक्रबार मन्त्री खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको निजी निवास गुण्डु पुगेर विशेष छलफल गरेका हुन् । भेटमा फागुन २१ को निर्वाचनका तयारी र राजनीतिक सहकार्यका विषयमा संवाद भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री खरेलले शनिबार हुने तय भएको प्रधानमन्त्री र तीन दलका शीर्ष नेताहरूबीचको निर्णायक वार्ताका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा समेत दिएका छन् ।

मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरिसकेका छन् । ओलीलाई भेटेपछि उनी नेकपाका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’लाई भेट्न जाने कार्यक्रम रहेको छ ।

जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राख्दै दलहरूबीच साझा धारणा बनाउन यो पहल थालेको जनाइएको छ ।


Facebook Comments