बुढीनन्दाको ताडी–घोडाकोट–चम्लाया हुँदै कुरु जोड्ने सडक शिलान्यास
१ करोड ४० लाखको योजना ५० लाखमा ठेक्का
गोविन्द तिमिल्सेना
|
२०८२ पुष ११ गते १३:४५
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–४ मा पर्ने ताडी–घोडाकोट–चम्लाया हुँदै कुरु वडा कार्यालय जोड्ने सडक खण्डको औपचारिक शिलान्यास गरिएको छ । स्थानीयको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै नगरपालिकाले यस सडकको निर्माण कार्य सुरु गरेको हो ।
नगर प्रमुख जनक कुमार बोहराले एक विशेष समारोहका बीच सडकको शिलान्यास गरेका हुन् । शिलान्यासपछि बोहराले सडक पूर्वाधारलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै यस सडकले वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय र स्थानीय बजारसम्मको पहुँचलाई सहज बनाउने विश्वास व्यक्त गरे ।
यस सडक निर्माणका लागि करिब १ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको भए पनि ठेक्का प्रक्रियामा चक्र आरती निर्माण सेवा प्रा.लि.ले प्रतिस्पर्धात्मक दरमा ५० लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको छ । निर्माण व्यवसायी धनसिंह रोकायाले निर्धारित मापदण्ड र गुणस्तर कायम गर्दै समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सडक निर्माण सम्पन्न भएपछि यातायातमा सहजता आउनुका साथै स्थानीय कृषि उत्पादनको बजारीकरण, आपत्कालीन स्वास्थ्य सेवामा पहुँच र समग्र सामाजिक–आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन आउने स्थानीयले अपेक्षा गरेका छन् ।
शिलान्यास कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष जुल्फे रोकाया, नगर प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष जंगवीर रोकाया, वडा नं. २ का अध्यक्ष नन्दराज गिरी, कार्यपालिका सदस्य जुनदेवी बोहरा लगायतका जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।
Facebook Comments