मार्तडीमा बढ्दो सहरीकरण : उर्वर भूमि जोगाउनै मुस्किल
गोविन्द तिमिल्सेना
|
२०८२ पुष ११ गते १७:५९
बाजुरा । बाजुराको सदरमुकाम मार्तडी र आसपासका क्षेत्रमा पछिल्लो समय भौतिक संरचना निर्माणको होडबाजी चल्दा यहाँको खेतीयोग्य जमिन तीव्र रूपमा मासिँदै गएको छ । कुनै समय धान, गहुँ र जौ फल्ने उर्वर फाँटहरू अहिले पक्की घर र अव्यवस्थित भवनहरूले भरिभराउ हुन थालेका छन् ।
सदरमुकाममा सेवा–सुविधा र व्यापारिक अवसर बढ्दै गएपछि जिल्लाका ९ वटै स्थानीय तहका नागरिकको बसोबास यहाँ केन्द्रित भएको छ । यसले गर्दा पहिलेका हरिया खेतहरू अहिले घडेरी र सडकमा परिणत भएका छन् ।
स्थानीय धने थापाका अनुसार, उत्पादन राम्रो हुने जमिनमा धमाधम संरचना बनेपछि खाद्य बाली उत्पादनमा संकट आएको छ । अर्का स्थानीय गोरख थापाले पनि अव्यवस्थित विकासले गर्दा कृषि क्षेत्र पूर्णतः विस्थापित हुन थालेको दुखेसो पोखे ।
जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका अनुसार, पछिल्लो दशकमा जनसंख्याको चाप र पूर्वाधार निर्माणका कारण कृषियोग्य जमिन नष्ट हुने क्रम बढेको छ । कार्यालयका प्रमुख जसीराम साहनीले जग्गा प्लटिङ गर्ने, खेत–खेतमा सडक पुर्याउने र व्यक्तिगत भवन निर्माण गर्ने प्रवृत्तिले कृषि उत्पादनमा गिरावट ल्याएको बताए ।
बाजुराको कुल २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २८ हजार १३५ हेक्टर मात्र खेतीयोग्य छ । यसमध्ये पनि सिञ्चित जमिन ५ हजार २०० हेक्टर र असिञ्चित पाखो खेती २ हजार ३० हेक्टर रहेको छ ।
मुख्य व्यापारिक केन्द्र मार्तडीबाट छिमेकी जिल्ला हुम्ला, मुगु र जुम्लासम्म खाद्यान्न ढुवानी हुने भए पनि जिल्लाकै उर्वर भूमि मासिँदा भविष्यमा खाद्य सुरक्षामा ठूलो चुनौती थपिने देखिएको छ ।
Facebook Comments