पूर्व मेयर महर्जनकाे भ्रष्टाचार मुद्दामा सर्वोच्च पुग्याे अख्तियार
गोदावरी राजस्व हिनामिना प्रकरण
मेयरसाप डेस्क
|
२०८२ पुष ११ गते १७:५३
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा ढुङ्गा–गिट्टी र बालुवा उत्खननका क्रममा भएको अर्बौँ रुपैयाँ राजस्व हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
ललितपुर महानगरका तत्कालीन मेयर गजेन्द्र महर्जनसहित १४ जनालाई विशेष अदालतले दिएको सफाइ त्रुटिपूर्ण रहेको दाबी गर्दै अख्तियार सर्वोच्च पुगेको हो ।
विशेष अदालतले गत साउन ३० गते मेयर महर्जनसहितका आरोपीहरूलाई निर्दोष ठहर गर्दै सफाइ दिएको थियो । उक्त फैसला चित्तबुझ्दो नभएको भन्दै अख्तियारले शुक्रबार पुनरावेदन पेस गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
के थियो आरोप?
अख्तियारले जेठ २१ गते दायर गरेको मुद्दामा गोदावरी नगरपालिकाले ढुङ्गा–गिट्टी बिक्री वितरण गर्दा प्रदेश कानुनले तोकेको दररेटभन्दा कम राजस्व लिने गरी नियम बनाएको उल्लेख छ ।
यसरी सरकारी दररेट घटाएर नगरपालिकाले सरकारलाई १ अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ प्रत्यक्ष हानिनोक्सानी पुर्याएको अख्तियारको दाबी छ । आयोगले सोही रकम बराबरको बिगो र कारबाहीको माग गर्दै मुद्दा चलाएको थियो ।
Facebook Comments