रामप्रसादराई गाउँपालिकाद्वारा एक हजारबढी ज्येष्ठ नागरिकलाई सम्मान
आठवटै वडाका ज्येष्ठ नागरिकलाई सम्मानसहित कपडा वितरण
No Author Assigned | २०८२ पुष १२ गते २१:४७
भोजपुर । रामप्रसादराई गाउँपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मानसहित न्यानो कपडा वितरण गरेको छ । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाएको हो ।
ज्येष्ठ नागरिक दिवसको अवसर पारेर पालिकाले मातहतका आठवटै वडाका ज्येष्ठ नागरिकलाई सम्मानसहित कपडा वितरण गरेको हो । पालिकाले आगामी दिनमा पनि वडावडामा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान र कपडा वितरण गर्नेछ । पहिलो दिन पालिकामा गरिएको कार्यक्रममा ४५ जना ज्येष्ठ नागरिकलाई सम्मानसहित न्यानो कपडा प्रदान गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए।
उनले भने, “पालिकाभित्रका ज्येष्ठ नागरिकको सम्मानका लागि यो कार्यक्रम गरिएको हो, यसलाई हामी आगामी दिनमा पनि निरन्तरता दिनेछौँ।” गाउँपालिकाले वडा तहका समेत गरेर एक हजार बढी ज्येष्ठ नागरिकलाई सम्मानसहित कपडा वितरण गर्ने जनाएको छ ।
Facebook Comments