प्रधानमन्त्रीले तीन पूर्वप्रधानमन्त्रीसँग भनिन्–यो निर्वाचन जसरी पनि सफल पारौँ
मेयरसाप डेस्क
|
२०८२ पुष १२ गते १७:०२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी छन् ।
प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग भएको छलफलमा उनले ती दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका निम्ति लाग्न आह्वान गरिन्। उनले निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएकामा जोड दिएकी छन्।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले तीन पूर्वप्रधानमन्त्रीलाई भनिन्, “यो निर्वाचन जसरी पनि सफल पारौँ । सबै यसमा सहभागी हुनुपर्छ । तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने सरकारले ठानेको छ । निर्वाचनको वातावरण बनिरहेको छ । यो स्वागतयोग्य छ ।”
निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोत साधन सरकारले उपलब्ध गराएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुरक्षाकर्मीको मनोबल बढेको बताइन् ।
छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए । प्रधानमन्त्रीलाई बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले साथ दिएका थिए ।
Facebook Comments