सहकारीमा डामिएकासँग मिलेर देश लिलाम गर्न खाेजियाे : हर्क साम्पाङ
विदेशी शक्तिको सेटिङमा सरकार बनाउने दाउ
No Author Assigned | २०८२ पुष १४ गते ११:०३
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सहमति भएपछि कडा आलोचना गरेका छन् ।
आइतबार रवि–बालेनबीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राखेर मेयर साम्पाङले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा तानिएका मान्छेहरूसँग मिलेर सत्ता प्राप्तिका लागि र यो देशलाई लिलाम गर्नकै लागि चुनावमा आउन लागेको गम्भीर आरोप लगाए । उनले यस्तो प्रवृत्ति बोकेको व्यक्तिलाई सबै नेपालीले प्रश्न गर्नुपर्नेमा जोड दिए ।
भिडियो सन्देशमा साम्पाङले भने, ‘जेनजी आन्दोलनको मागको सम्बोधन जसले गर्दछन्, चुनावको कुरा बाहेक अरू केही पनि गर्दछन् । त्यस्तो खालको व्यक्ति को होला र त्यो व्यक्ति फेरि चुनावमा आउने भन्ने कुरा पनि सुनिरहेको छु । सहकारी केश के केमा तानिएका मान्छेहरूसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि एउटा मान्छे लुकेर बस्ने मान्छेलाई प्रत्येक नेपालीले प्रश्न गर्नुपर्छ ।’
यति मात्र नभई, साम्पाङले जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति र देशको परिस्थितिलाई लिएर बालेनको मौनतामाथि प्रश्न उठाए । ७०–८० जना मान्छेको मृत्यु हुँदा र देश खरानी हुँदा टुलुटुलु भित्र बसेर हेर्ने व्यक्ति अहिले बाहिर आउन लागेको उनको भनाइ छ।
बालेनमाथि विदेशी दलालको आरोप लगाउँदै उनले भने, ‘एउटा विदेशी दलाल जो भित्रभित्र लुकेर खेल खेल्छ, डर लाग्दो खेल खेल्छ । जेनजीलाई उक्साएर आन्दोलनमा लड्न पठाउँछ, जब ७०, ८० जना मान्छेको मृत्यु हुन्छ, सयौँ मान्छे घाइते हुन्छ । एउटा जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा देश जलेर खरानी हुन्छ त्यो खरानी भएको देश टुलुटुलु भित्र बसेर हेरिरहन्छ, मुसुमुसु हाँसेर, बाहिर आउँदैन । त्यति बेला सघाइदिनुपर्यो भनेर जेनजीले बोलाउँदा आउने साहस गर्दैन । तर भित्र बसेर विदेशी शक्तिको सेटिङमा फलाना यस्तो, उस्तो भनेर एउटा आफ्नै मातहतको सरकार बनाउँछ। ’
Facebook Comments