बन्ध्याकरणमा पुरुषको अनिच्छा, परिवार योजनाको भार महिलाकै काँधमा

एकीकृत परिवार योजना शिविर

User Image मेयरसाप डेस्क | २०८२ पुष १३ गते १२:२७
Image of https://mayorsap.com/storage/photos/shares/photo_17.jpg

काठमाडौं । सरकारले सञ्चालन गर्दै आएको ‘एकीकृत परिवार योजना शिविर’मा स्थायी बन्ध्याकरण सेवा लिनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या निकै बढी देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयहरूले स्थानीय तह र सुनौलो परिवार नेपालसँगको प्राविधिक सहयोगमा सञ्चालन गरेका शिविरहरूमा पुरुषहरू भ्यासेक्टोमी (पुरुष बन्ध्याकरण)का लागि अझै पनि हच्किने गरेको पाइएको हो ।

कैलालीमा हालै सम्पन्न घुम्ती शिविरको तथ्याङ्कले यसको पुष्टि गर्दछ । १० स्थानमा सञ्चालित शिविरमा २ सय ११ जनाले स्थायी सेवा लिएकामा १ सय ९३ महिलाले ‘मिनील्याप’ गराए भने पुरुषको सङ्ख्या मात्र ८ जनामा सीमित रह्यो ।

गत आर्थिक वर्षमा देशभरका २ सय ८६ दुर्गम स्थानमा सञ्चालित शिविरमा पनि १० हजार १ सय ९९ महिलाले सेवा लिँदा पुरुषको सङ्ख्या मात्र ४ सय ९७ रहेको थियो ।

भ्रमका कारण पुरुष पछि हट्दै परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँका अनुसार बन्ध्याकरण गरेपछि शरीर कमजोर हुने र काम गर्न नसकिने भन्ने गलत बुझाइ र भ्रमका कारण पुरुषहरू यो सेवा लिन डराउने गरेका छन् । यो भ्रम चिर्न नसक्दा परिवार योजनाको भार अझै पनि महिलाले नै बोक्नुपर्ने बाध्यता देखिएको छ ।

नयाँ ढाँचामा सेवा प्रवाह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले स्थानीय तह र निजी सेवा प्रदायक संस्थाहरूसँगको साझेदारीमा ‘एकीकृत परिवार योजना शिविर’ सञ्चालन गर्ने नीति लिएको छ । परिवार कल्याण महाशाखाका अनुसार पायक पर्ने स्थानमै पुगेर मिनील्याप, भ्यासेक्टोमी, इम्प्लान्ट, आइयुसिडी र डिपो लगायतका सेवा निःशुल्क प्रदान गरिँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, २० वर्षभन्दा कम उमेरमा हुने विवाह, असुरक्षित गर्भपतन र परिवार योजनाका साधनमा पहुँच पुर्याउन अझै पनि चुनौती छ ।

जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (२०२२) का अनुसार, नेपालमा आधुनिक परिवार नियोजन सेवाको प्रयोगदर ४२.८ प्रतिशतमा खुम्चिएको छ भने २३.७ प्रतिशत महिला अझै पनि यो सेवाबाट वञ्चित छन् ।

मेरि स्टोप्स नेपालका वरिष्ठ सल्लाहकार केपी उपाध्यायले विपन्न र सीमान्तकृत समुदायसम्म सेवा पुर्याउन यो साझेदारी मोडल प्रभावकारी भएको बताए । हाल सातै प्रदेशमा मेडिकल टिम परिचालन गरी ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै सेवा दिने प्रयास भइरहेको छ ।


Facebook Comments