गोठमै गाईभैँसीको निःशुल्क अल्ट्रासाउन्ड र उपचार

User Image मेयरसाप डेस्क | २०८२ पुष १३ गते १२:०४
Image of https://mayorsap.com/storage/photos/shares/photo-1_5.jpg

पाल्पा । पूर्वखोला गाउँपालिकाले आधुनिक प्रविधिको प्रयोग गरी किसानका घरदैलोमै गाईभैँसीको निःशुल्क गर्भ परीक्षण र बाँझोपन निवारण सेवा सुरु गरेको छ । 

हेफर इन्टरनेसनल नेपालको प्राविधिक सहयोगमा सञ्चालित ‘पूर्वखोला कृषि तथा पशु विकास परियोजना’मार्फत अल्ट्रासाउन्ड मेसिन प्रयोग गरी पशुको स्वास्थ्य जाँच गर्न थालिएको हो ।

पहिले पशु ब्याउने वा नब्याउने थाहा पाउन ९ महिना कुर्नुपर्ने बाध्यता रहेकामा अहिले आधुनिक मेसिनको सहयोगले पहिल्यै जानकारी पाउन थालेपछि किसानहरू उत्साहित भएका छन् ।

यस प्रविधिले गर्दा गर्भ नरहेका पशुलाई ब्याउने ठानेर पालिराख्नुपर्ने वा नब्याउने शङ्कामा कम मूल्यमा बेच्नुपर्ने आर्थिक जोखिम अन्त्य भएको स्थानीय किसान मीना थापाले बताइन् ।

परियोजना संयोजक राजकुमार आलेका अनुसार, अल्ट्रासाउन्डबाट पाठेघरको भित्री संरचना र प्रजनन समस्या सजिलै पत्ता लाग्ने हुनाले बाँझोपन निवारणमा ठूलो सहयोग पुगेको छ ।

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले पशुपालनलाई स्वरोजगारको भरपर्दो माध्यम बनाउन आगामी दिनमा पालिकाले आफ्नै मेसिन खरिद गर्ने र प्राविधिकलाई थप दक्ष बनाउने योजना रहेको जानकारी दिए ।


Facebook Comments