देशलाई संकटबाट निकास दिन निर्वाचनको विकल्प छैन: प्रचण्ड
मेयरसाप डेस्क
|
२०८२ पुष १४ गते १०:१२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई सफल बनाएर मुलुकलाई संकटबाट निकास दिनुपर्ने बताएका छन् । सोमबार बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई संकटबाट निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताए ।
उनले भने, ‘देशलाई निकास दिने अब निर्वाचनमात्रै सबभन्दा राम्रो विकल्प हो। अन्य विकल्पतिर सोच्न थालियो भने देश अर्को दुर्घटनामा पर्छ।’ निर्वाचनबाटै देशलाई स्थिरता र विकासको नयाँ प्रक्रियामा लैजान सकिने उनले बताए । सबै दल निर्वाचनमा सहभागी हुने वातावरण बनेको पनि प्रचण्डले बताए ।
फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी गर्दा आफूलाई खुसी लागेको पनि उनले बताए ।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरु राज्यको दायित्वभित्र जाओस् र अन्ततः त्यो निःशुल्क होस् भन्ने आफूहरुको चाहना रहेको पनि बताए । ‘आउने दिनमा हामी त्यसको निम्ति आफ्नो ठाउँबाट प्रयास गर्ने विश्वास पनि म तपाईंहरुलाई दिलाउन चाहान्छु’ उनले भने ।
Facebook Comments