हेटौंडाकाे सहिद स्मारक क्षेत्रमा अवैध शुल्क असुल्नेलाई कार्वाही गरिन्छ- एसपी सुभाषचन्द्र बोहोरा
हेटौँडा । मकवानपुरको प्रमुख पर्यटकीय स्थल सहिद स्मारक पार्कमा अब कुनै पनि प्रकारको अवैध शुल्क उठाउन नपाइने भएको छ। हेटौँडा उपमहानगरपालिका–११ मा अवस्थित यो ऐतिहासिक तथा पर्यटकीय स्थलमा दैनिक रूपमा स्थानीय, विद्यार्थी तथा बाहिरी जिल्लाबाट आएका पर्यटकहरूको भीड लाग्ने गरेको छ।
हालसालै, सहिद स्मारकमा पुग्ने पर्यटक र सवारी चालकसँग स्थानीय अटो तथा मयुर चालकहरूले अनधिकृत रूपमा अतिरिक्त शुल्क उठाउने गरेको गुनासो जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेको थियो। यात्रु ल्याएको वा फर्काएको बहानामा जबर्जस्ती पैसा असुल्ने, नदिए विवाद सिर्जना गर्ने गतिविधि भइरहेको सूचना एसपी सुभाषचन्द्र बोहोरासम्म पुग्दा उनले तत्काल सक्रियता देखाएका हुन्।
एसपी बोहोराले मेयरसाब डट कमका संवाददाता दीक्षांश खड्कासँग भने, “सहिद स्मारक क्षेत्रमा अब कुनै पनि प्रकारको अवैध शुल्क उठाउन मिल्दैन। पर्यटकीय स्थलमा आउने सर्वसाधारण र सवारी चालकलाई अनावश्यक दुःख दिने गतिविधि सह्य छैन। नियम उल्लङ्घन भए कानुनअनुसार कारबाही हुनेछ।”
प्रारम्भिक अनुसन्धानमा केही स्थानीय अटो तथा मयुर चालकहरूले बाहिरी चालकसँग अवैध शुल्क उठाउँदै आएको पुष्टि भएको जनाइएको छ। एसपी बोहोराले सहिद स्मारक क्षेत्रलाई सुरक्षित, मर्यादित र पर्यटकमैत्री बनाउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको र नियमित अनुगमन गरिने बताएका छन्।
यो निर्णयपछि सहिद स्मारक घुम्न आउने पर्यटक, सर्वसाधारण र सवारी चालकहरूले राहत महसुस गरेका छन्। स्थानीयवासी तथा सरोकारवालाहरूले पनि प्रहरी प्रशासनको कडा कदमको स्वागत गर्दै दीर्घकालीन समाधानका लागि निरन्तर अनुगमन आवश्यक रहेको बताएका छन्।
Facebook Comments