अन्तरपालिका भलिबल : षडानन्दलाई हराउँदै पाँचखपनले जित्यो उपाधि
सेकाहा महोत्सवमा भलिबलको रौनक
मेयरसाप डेस्क
|
२०८२ पुष १६ गते १०:३१
संखुवासभा । संखुवासभाको खाँदबारी–४, सेकाहामा आयोजित अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि पाँचखपन नगरपालिकाले जितेको छ । मंगलबार भएको फाइनल भिडन्तमा भोजपुरको षडानन्द नगरपालिकालाई ‘सोझो सेट’मा हराउँदै पाँचखपन च्याम्पियन बनेको हो ।
रोमाञ्चक फाइनल खेलमा पाँचखपनले षडानन्दमाथि २५–२२, २५–१७ र २५–२० को सहज जित निकाल्यो । उत्कृष्ट तालमेल र आक्रामक प्रदर्शन गरेको पाँचखपनले खेलभरि नै विपक्षी टोलीलाई दबाबमा राखेको थियो ।
सेकाहा महोत्सवको अवसरमा सेकाहा सामुदायिक विकास क्लबद्वारा आयोजित यस प्रतियोगितामा उपाधिसँगै पाँचखपनले नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको षडानन्द नगरपालिकाले ५० हजार रुपैयाँमा चित्त बुझायो ।
यस्तै, सेमिफाइनलसम्म पुगेका खाँदबारी नगरपालिका र आयोजक सेकाहा क्लबले जनही २०–२० हजार रुपैयाँ पुरस्कार पाएका छन् । विजयी टोलीहरूलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई र सिक्किम सरकारका पूर्वपर्यटनमन्त्री गर्जमान गुरुङले पुरस्कार तथा मेडल वितरण गरेका थिए ।
Facebook Comments