समानुपातिक सूचीमा देखिएका विवाद सच्याउँछौँ: रवि लामिछाने

सहमति गर्दा तयारी नपुगेकाे स्वीकार

User Image मेयरसाप डेस्क | २०८२ पुष १६ गते १४:४०
Image of https://mayorsap.com/storage/photos/shares/rabi-lamichhane-speaking.jpg

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिकतर्फको बन्दसूचीमा देखिएका त्रुटि र गुनासाहरूलाई दुई दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । 

बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी विधिभन्दा बाहिर नजाने र जायज गुनासोहरूलाई ’रिभ्यू’ गरिने बताए ।

पार्टीभित्र परिवारवाद हाबी भएको र धनाढ्यहरूलाई प्राथमिकता दिएको भन्ने आलोचनाको जवाफ दिँदै लामिछानेले भने, “हाम्रो विधानले नै परिवारवादलाई निषेध गरेको छ। कथमकदाचित कसैले विधि मिचेमा ’राइट टू रिकल’ को व्यवस्था छ ।” 

उनले अन्तिम समयमा अन्य शक्तिहरूसँग चुनावी तालमेल र सहमति गर्नुपरेकाले तयारीमा केही कमी भएको स्वीकार गरे ।

सूचीमा धनाढ्यहरूको बाहुल्य रहेको भन्ने प्रश्नमा उनले देशको दूषित राजनीतिको कारण समाजका हरेक तप्का र पेसाकर्मीहरू राजनीतिमा जुर्मुराएको दाबी गरे । 

पार्टीले कसैलाई पनि जबरजस्ती बोकेर हिँड्नुनपर्ने भन्दै उनले दुई दिनभित्र विवादित नाम र क्रमसंख्याबारे पुनर्विचार गरिने स्पष्ट पारे ।


Facebook Comments