भारतमा श्रम शोषणमा परेका ७ नेपालीको उद्धार
मेयरसाप डेस्क
|
२०८२ पुष १६ गते १५:२८
जनकपुर । भारतका विभिन्न स्थानमा अलपत्र परेका मधेस प्रदेशका ६ बालबालिका र एक महिलाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । ’किन इन्डिया’ नामक संस्थाको अगुवाइ, भारतीय प्रहरी र नेपाली दूतावासको समन्वयमा उनीहरूलाई जनकपुरधाम ल्याएर परिवारलाई बुझाइएको हो ।
उद्धार गरिएकाहरूमा सप्तरीका तीन, धनुषाका दुई तथा रौतहट र बाराका एक–एक जना छन् । विभिन्न प्रलोभनमा पारेर भारत पुर्याइएका उनीहरूलाई त्यहाँ भिख माग्न लगाउने र श्रम शोषण गर्ने गरिएको पाइएको छ । किन इन्डियाका निर्देशक नवीन जोशीका अनुसार भारतमा श्रम शोषण र बेचबिखनमा पर्नेहरूमा मधेस प्रदेशकै सङ्ख्या उल्लेख्य छ ।
अभिभावकलाई जिम्मा लगाउने कार्यक्रममा मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाले आफ्ना बालबालिका वा आफन्त हराउने बित्तिकै तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरे । उद्धार गरिएकाहरूलाई प्रलोभनमा पारी भारत पुर्याउने गिरोहको पहिचान र कानुनी कारबाहीका लागि पहल भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments