मालपोत कार्यालय मकवानपुरमा छड्के अनुगमन, भेटिएनन् कर्मचारी
कर्मचारी नआउँदा सेवाग्राही अलपत्र
मेयरसाप डेस्क
|
२०८२ पुष १६ गते १६:१२
हेटौँडा । मालपोत कार्यालय मकवानपुरमा कर्मचारीहरूको लापरबाही र अनुपस्थिति देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयले बुधवार बिहान १० देखि ११ बजेसम्म गरेको छड्के अनुगमनका क्रममा कार्यालयका प्रमुखसहित १४ जना कर्मचारी अनुपस्थित भेटिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, कार्यालय समय सुरु भइसक्दा पनि शीर्ष तहका कर्मचारीसहित ठुलो सङ्ख्यामा कर्मचारी नआउँदा सेवा प्रवाह प्रभावित भएको थियो ।
छड्केका क्रममा मालपोत प्रमुख रघुवंश कँडेल नै कार्यालयमा भेटिएनन् भने उनलाई पटक–पटक फोन सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आएनन् ।
सूचना अधिकारी भीमबहादुर परियारले भने अनुगमनबारे पूर्व जानकारी नभएकाले कर्मचारीहरू नआएको तर्क गरेका छन् । उनले कतिपय कर्मचारी बिदामा रहेको र अरूलाई फोन गरेर बोलाउँदै गरेको दाबी गरे ।
मालपोत कार्यालयमा प्रमुख नै गायब हुने र कर्मचारीहरू समयमा उपस्थित नहुने प्रवृत्तिले बिहानैदेखि सेवाका लागि लाइनमा बसेका सर्वसाधारण मारमा परेका छन् ।
Facebook Comments