कांग्रेसमा कलह तीव्र: के गगन–विश्वले फुटाउँदैन् कांग्रेस ?
मेयरसाप डेस्क
|
२०८२ पुष १७ गते २०:५४
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन आह्वान गर्ने निष्कर्षमा पुगेका छन्। तोकिएको समयमै १५औँ नियमित महाधिवेशन हुन नसक्ने निश्चित भएपछि उनीहरूले विशेष महाधिवेशनलाई विकल्पका रूपमा अघि सारेका हुन्।
पार्टीको नियमित महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने कार्यतालिका रहे पनि वडा अधिवेशनसहितका पूर्वतयारी प्रक्रिया अघि नबढेपछि महाधिवेशन सम्भव नदेखिएको नेताहरूको निष्कर्ष छ। यही अवस्थालाई सम्बोधन गर्न बिहीबार दुई महामन्त्रीले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन आवश्यक भएको कारण स्पष्ट गरेका छन्।
विज्ञप्तिमा पुस २६ गते नियमित महाधिवेशनको कार्यतालिका परिमार्जन गरी प्रक्रिया अघि बढाउन नसक्दा सम्पूर्ण तालिका निष्प्रभावी बनेको उल्लेख छ। पार्टीभित्र बढ्दो अन्योल र अनिश्चितता अन्त्य गर्न आफूहरू वक्तव्य जारी गर्न बाध्य भएको महामन्त्रीद्वयले बताएका छन्।
विशेष महाधिवेशन पुस २७ देखि २९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा गर्ने तयारीमा गगन-विश्व लागेकाे देखिन्छ। केन्द्रीय सदस्य मधु आचार्यका अनुसार महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारी समिति गठनको प्रक्रिया अघि बढाइएको छ। यसैबीच महामन्त्री गगन थापाले महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनको मस्यौदा तयारी सुरू गरिसकेका छन्। विशेष महाधिवेशनबारे औपचारिक जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन गर्ने तयारीसमेत गरिएको छ।
कांग्रेस विधानअनुसार केन्द्रीय समितिले आवश्यकता ठानेमा वा कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। मागपत्र केन्द्रीय कार्यालयमा दर्ता भए पनि केन्द्रीय समितिबाट निर्णय नआएपछि महामन्त्रीहरूले स्वयं विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेका हुन्।
महामन्त्रीद्वयले शुक्रबार सभापति शेरबहादुर देउवालाई पत्र लेखी विशेष महाधिवेशन आह्वान गर्न तथा अध्यक्षता गर्न अनुरोध गर्ने भएका छन्। यदि सभापतिले आह्वान नगरे विधानअनुसार महामन्त्रीहरूले नै विशेष महाधिवेशन बोलाउने तयारी रहेको बुझिएकाे छ।
विधानले केन्द्रीय कार्यालयलाई महामन्त्रीको मातहतमा राखेको र विशेष महाधिवेशनको माग ‘केन्द्र’ समक्ष गरिने व्यवस्था गरेको हुँदा महामन्त्रीलाई आह्वानको अधिकार रहने कानुनविद्हरूको व्याख्या छ। विधानको दफा ३(१२) र दफा २७(१) ले महामन्त्रीलाई विशेष महाधिवेशन बोलाउने स्पष्ट अधिकार दिएको छ।
महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको ढोका बन्द हुनु विशेष महाधिवेशनको ढोका ढकढकाउनु सरह भएको टिप्पणी गरेका छन्। उनका अनुसार विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ।
विशेष महाधिवेशनको मागमा हालसम्म २,४८८ प्रतिनिधिको हस्ताक्षर संकलन भइसकेको छ, जुन संख्या अझै बढ्ने दाबी गरिएको छ। कांग्रेस–एमाले चुनावी गठबन्धनप्रति असन्तुष्टि, टिकट वितरणप्रतिको आशंका र नियमित महाधिवेशन नहुने स्पष्टताले विशेष महाधिवेशन पक्षधर संख्या बढाएको नेताहरूको भनाइ छ।
यद्यपि संस्थापन पक्षका केही नेता तथा डा. शेखर कोइराला विशेष महाधिवेशनले पार्टी विभाजनतर्फ जान सक्ने भन्दै विरोधमा छन्। तर मागकर्ता पक्ष भने विधानमै व्यवस्था गरिएको प्रक्रिया प्रयोग गर्दा दल फुट्ने तर्क अस्वाभाविक भएको दाबी गर्छ।
महामन्त्रीद्वयले केन्द्रीय समितिको निर्णयबाट विशेष महाधिवेशन भए विवादरहित हुने जनाउँदै सर्वसम्मतिका आधारमा प्रक्रिया अघि बढाउने प्रयास रहने बताएका छन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित दर्ता भएको विशेष महाधिवेशनको माग सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर तोकिएको समयमै नियमित महाधिवेशन सम्भव नभएपछि विशेष महाधिवेशन नै व्यवहारिक विकल्पका रूपमा अघि आएको छ।”

Facebook Comments