हेटौंडामा भारतीय कारको ठ-क्करबाट डिउटीमा रहेका ट्राफिक प्रहरी घा*इते, चालक फरार

User Image दिक्षान्स खड्का | २०८२ पुष १८ गते ०९:३८
Image of https://mayorsap.com/storage/photos/shares/accident_1.jfif

हेटौंडा । नयाँ वर्ष मनाउन हेटौंडा आएको भारतीय पर्यटकको कारले डिउटीमा रहेका ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार भएको छ । हेटौंडा उपमहानगरपालिका– १ राप्ती पुल नजिकै बिहीबार राति १० बजेतिर नम्बर नखुलेको भारतीय नम्बरको कारले ठक्कर दिँदा ट्राफिक प्रहरी जवान विजय प्रताप शाह घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । 

सहिद स्मारकबाट वीरगञ्जतर्फ तीव्र गतिमा जाँदै गरेको कारलाई नियमित चेकजाँचका लागि रोक्न खोज्दा ट्राफिक प्रहरीमाथि ठक्कर दिएर फरार भएको हो । रोक्ने क्रममा उक्त गाडीले प्रहरी जवान शाहलाई चेकपोष्टदेखि राप्ती पुलसम्म करिब १० मिटर घिसारेको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका शाहको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार चालकले मदिरा सेवन गरेर गाडी चलाएका थिए ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार गाडी र चालकको खोजी तीव्र पारिएको र सीमावर्ती क्षेत्र तथा नाकाहरूमा समेत निगरानी बढाइएको जनाएको छ। प्रहरीले यस घटनालाई गम्भीर आपराधिक गतिविधिका रूपमा लिएको र चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।   


Facebook Comments