निर्माणाधीन एसियाली राजमार्गमा दु*र्घटना बढे

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते १०:०६
Image of https://mayorsap.com/storage/photos/shares/accident1.jpg

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ ।

काँकडभिट्टाबाट विर्तामोडतर्फ जाँदै गरेको अवस्थामा साह सवार प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई पिबी ०२ बिआर ७७६५ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा निजको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मेचीनगर–६ निवासी साहलाई तत्काल उपचारका लागि धुलाबारीस्थित मेची आम्दा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले ट्रकका चालक भारत पञ्जावको अमृतसर निवासी ३६ वर्षीय सन्दीप सिंहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

निर्माणाधीन एसियाली राजमार्गको अव्यवस्थित डाइभर्सन र हिलाम्मे सडकका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको गुनासो गरेका छन् । यही पुस ५ गते साँझ विर्तामोड–६ स्थित बुट्टाबारी चिया बगान नजिकको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको थियो ।

राजमार्गको काँकडभिट्टा–विर्तामोड खण्डमा डाइभर्सन र संकेत चिह्नहरु देख्नेगरी नराखिएका र चिप्लो माटो भरिएको सडकमा पानी खन्याउँदा हिलाम्मे हुने गरेको सर्वसाधारणको गुनासो छ ।

कनकाई–६ की पत्रकार सावित्रा दाहाल र मेचीनगर–९ का इभन लुइँटेलले खराब डाइभर्सनका कारण आफूहरु राजमार्गमा दुर्घटनामा परेको बताएका छन् । दाहाल र लुइँटेल लामो समयको अस्पताल बसाइपछि स्वास्थ्यलाभ गरेर हालै घर फर्किएका छन् ।


Facebook Comments