बालविवाह र विभेदले बढायो कुपोषण, सामाजिक मान्यता बदल्न जोड

गुराँस गाउँपालिकामा सरोकारवालाबीच मन्थन

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते १३:४९
Image of https://mayorsap.com/storage/photos/shares/photo_31.jpg

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा कुपोषणलाई केवल स्वास्थ्य समस्या मात्र नभई सामाजिक संरचना र अन्धविश्वाससँग जोडिएको गम्भीर चुनौतीका रूपमा विश्लेषण गरिएको छ ।

पोषण नेपालको समन्वयमा शुक्रबार आयोजित संवाद कार्यक्रममा सहभागीहरूले कुपोषण न्यूनीकरणका लागि परम्परागत सोच र व्यवहारमा परिवर्तन अनिवार्य रहेको निष्कर्ष निकालेका हुन् ।

बालविवाह, खानपानमा लैङ्गिक विभेद, महिनावारीमा गोठमा बस्ने कुसंस्कार र महिलाको कमजोर निर्णय क्षमता कुपोषणका मुख्य कारक मानिएको छ । बिरामी हुँदा स्वास्थ्य संस्था जानुको साटो परम्परागत उपचार पद्धतिमा निर्भर रहने प्रवृत्तिले जोखिम बढाएको छ ।

धामी–झाँक्री र धार्मिक अगुवाहरूले सकारात्मक परिवर्तनको वाहक बनेर समुदायलाई स्वास्थ्य संस्था जान प्रेरित गर्नुपर्नेमा जोड दिइएको हो ।

संवादमा सहभागी किशोरीहरूले महिनावारीका बेला हुने विभेद र विद्यालयमा किशोरीमैत्री शौचालयको अभाव जस्ता व्यवहारिक समस्यामाथि नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

गाउँपालिका उपाध्यक्ष शिवा खड्काले नीति र कानुनले मात्र नपुग्ने भन्दै सामाजिक मान्यता बदल्न सबैको सहकार्य आवश्यक रहेको बताइन् ।

गाउँपालिकाले हाल पोषण चक्र तोड्न वडा तहसम्म सचेतना र गर्भवती लक्षित विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।


Facebook Comments