रास्वपाको एकीकरण कार्यक्रममा बालेन र कुलमान अनुपस्थित

रवि लामिछानेले स्वर्णिमलाई भने- डा'साब बजेट लेख्न थाल्नुहाेस् !

User Image मेयरसाप डेस्क | २०८२ पुष २१ गते २१:१४
Image of https://mayorsap.com/storage/photos/shares/rsp.png

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार राष्ट्रिय सभा गृहमा आयोजित राजनीतिक एकीकरण कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उपस्थित भएनन्।

नागरिक उन्मुक्ति पार्टीको पूर्व नेतृत्व तथा थरुहट/थारुवान आन्दोलनका अभियन्तासँग रास्वपाको एकीकरणका रूपमा प्रस्तुत गरिएको उक्त कार्यक्रममा ठूलो संख्यामा कार्यकर्ता सहभागी थिए। हल भरिएपछि बाहिरसमेत कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको थियो। तर पछिल्ला दिनमा वैकल्पिक राजनीतिक शक्तिका सम्भावित अनुहारका रूपमा चर्चा भइरहेका बालेन शाह र कुलमान घिसिङ भने कार्यक्रममा देखिएनन्।

मेयर शाह निकट स्रोतका अनुसार कार्यक्रममा सहभागी हुने कुनै औपचारिक योजना वा निम्तो थिएन। यद्यपि, बालेन पक्षका केही व्यक्तिहरू कार्यक्रममा देखिए पनि उनी स्वयं सहभागी भएनन्। त्यस्तै, कुलमान घिसिङ निकटका नेताहरू पनि कार्यक्रममा खासै देखिएनन् र मञ्चमा उनलाई लिएर कुनै विशेष प्राथमिकता दिइएन।

कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने मञ्चमा प्रमुख रूपमा देखिए। मञ्चको दुवै छेउमा लामिछानेका ठूला तस्वीर राखिएका थिए। सम्बोधनका क्रममा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनप्रति उच्च आत्मविश्वास व्यक्त गरे। सोही क्रममा उनले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेलाई ‘डा. साब, अब आउने वर्षको बजेट लेख्न थाल्नुस्’ भन्दै सरकार गठनप्रतिको अपेक्षा संकेत गरे।

कार्यक्रममा थारु पहिचान झल्किने सांस्कृतिक प्रस्तुति, नृत्य र गीत पनि समावेश थिए। विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूले पुराना दलप्रति जनआक्रोश बढेको र वैकल्पिक राजनीतिप्रति युवाहरूको आकर्षण बढिरहेको दाबी गरे।

एकीकरण कार्यक्रमकै अवसरमा रास्वपा, नागरिक उन्मुक्ति पार्टीका नेताहरू तथा थरुहट/थारुवान अभियन्ताबीच नौबुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको छ। सहमतिअनुसार पार्टीको नाम, चुनाव चिह्न र झन्डा रास्वपाकै रहनेछ। साथै, आर्थिक–सामाजिक रूपान्तरणका लागि संरचनागत सुधार र थारु समुदायको सांस्कृतिक पहिचान संरक्षणका विषयमा प्रतिबद्धता जनाइएको छ।

चर्चित स्वतन्त्र व्यक्तित्वहरूको अनुपस्थितिबीच पनि रास्वपाले एकीकरण कार्यक्रममार्फत आगामी निर्वाचनमा आफूलाई निर्णायक वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिएको छ।


Facebook Comments