खानेपानीमन्त्रीले सम्हाले पद
मेयरसाप डेस्क
|
२०८२ पुष २१ गते २१:१९
काठमाडौँ । खानेपानीमन्त्री डा मदनप्रसाद परियारले आज पदभार ग्रहण गरेका छन्। कृषि तथा पशुपन्छी विकासमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्दै आएका मन्त्री परियारलाई आइतबार प्रधानमन्त्रीद्वारा खानेपानी मन्त्रालयको अतिरिक्त जिम्मेवारी तोकिएको थियो ।
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै मन्त्री परियारले देशभरका नागरिकलाई शुद्ध, सुरक्षित तथा दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिए । “तराई मधेससहित देशका धेरै क्षेत्रका नागरिकहरू अझै पनि शुद्ध खानेपानीको पहुँचबाट वञ्चित छन्”, मन्त्री परियारले भने, “नागरिकलाई शुद्ध अनि सुरक्षित खानेपानी उपलब्ध गराउन सरकार, मन्त्रालय र सरोकारवाला सबै निकाय एकजुट भएर लाग्नुपर्छ ।”
उनले खानेपानी तथा सरसफाइका क्षेत्रमा देखिएका समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम अघि बढाइने बताए । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकतामा राख्दै कार्यक्रमहरू कार्यान्वयन गरिने उनले उल्लेख गरे । यसैगरी मन्त्री परियालले मधेस प्रदेशमा अधुरा अवस्थामा रहेका खानेपानीका योजनाहरू शीघ्र सम्पन्न गर्ने प्रस्तावलाई सदर गरे । यसले त्यहाँका नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास लिइएको छ ।
Facebook Comments