माटो मिसिएको गिट्टीले ढलान गरेपछि जनप्रतिनिधिले भत्काए पर्खाल

गुणस्तरहीन सामग्री फिर्ता गर्न निर्देशन

User Image मेयरसाप डेस्क | २०८२ पुष २२ गते १२:०१
Image of https://mayorsap.com/storage/photos/shares/jhindada-road_1.jpg

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ झिनडाँडामा निर्माणाधीन सडकमा गुणस्तरहीन सामग्री प्रयोग गरिएपछि जनप्रतिनिधिहरूले ढलान भत्काइदिएका छन् ।

दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत ह्युम पाइप अडाउनका लागि गरिएको पिसिसी ढलानमा माटो मिसिएको गिट्टी र सडक ग्राभेलको ‘बेस’ प्रयोग भएको पाइएपछि स्थलगत अनुगमनमा पुगेको टोलीले उक्त कदम चालेको हो ।

स्थानीयवासीले गुणस्तरमा शङ्का गर्दै भिडियो सार्वजनिक गरेपछि गण्डकी प्रदेशसभा सदस्य रेसमबहादुर जुग जाली, गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेसम पुन मगरसहितको टोली सोमबार निर्माणस्थल पुगेको थियो ।

अनुगमनका क्रममा गुणस्तरहीन मसला (सिमेन्ट, गिट्टी र बालुवाको मिश्रण) भेटिएपछि जनप्रतिनिधिले उक्त संरचना तत्काल भत्काउन र पुनर्निर्माण गर्न निर्देशन दिएका हुन् ।

निर्माण कम्पनी ‘रामसागर बिके एस केबीएस धवलागिरि जेभी’का कर्मचारीले आफ्नो कमजोरी स्वीकार गर्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

१४ करोड ६१ लाखको लागतमा धारा पानीदेखि झिनडाँडा खण्डमा भइरहेको यो काम म्याग्दीको रणनीतिक महत्त्वको आयोजना हो । बेनी–ढोरपाटन जोड्ने यो सडकले ७० किलोमिटरको दूरी छोटाउने भएकाले यसलाई प्राथमिकतामा राखिएको छ ।

७१ प्रतिशत भौतिक प्रगति भइसकेको यस योजनामा ठेकेदारको लापरबाही देखिएपछि पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई कडा निगरानी राख्न निर्देशन दिइएको छ ।


Facebook Comments