कान्ति लोकपथको स्थलगत अनुगमन, समयमै काम सक्न निर्देशन
मकवानपुर । कान्ति लोकपथ सडकखण्ड अन्तर्गत बुद्ध चोकदेखि बागमतीसम्मको निर्माण कार्यलाई तीव्रता दिन प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकायको टोलीले स्थलगत अनुगमन गरेको छ ।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सुभाष चन्द्र बोहरा र सशस्त्र प्रहरी उपरीक्षक लगायतको सहभागिता रहेको थियो ।
६ वटा प्याकेजमा विभाजन गरेर अघि बढाइएको यस सडक परियोजनाको हालसम्मको कार्य प्रगति, निर्माणका क्रममा झेल्नुपरेका समस्या र तिनको समाधानका उपायबारे टोलीले समीक्षा गरेको छ ।
अनुगमनका क्रममा सडक कार्यालयका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी, निर्माण व्यवसायी र स्थानीय नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गरी सहजीकरणको लागि आवश्यक छलफल समेत गरिएको छ ।
प्रशासनले निर्माणमा देखिएका प्राविधिक तथा स्थानीय अवरोध हटाउन पूर्ण समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साथै, तोकिएको समय सीमाभित्रै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिँदै सबै पक्षलाई क्रियाशील रहन आग्रह गरेको छ ।
राजधानी जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथको निर्माण सम्पन्न भएसँगै मकवानपुर र आसपासका जिल्लाको यातायात व्यवस्था सहज हुने तथा यस क्षेत्रको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।
Facebook Comments