बागमतीमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया
मेयरसाप डेस्क
|
२०८२ पुष २४ गते ०७:३२
सर्लाही । सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको छ । गत सोमबारदेखि बागमती नगरपालिका–१२, स्थित तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमतीमा शिविर सुरु भएको थियो ।
शिविरमा सहभागी मोतिया बिन्दु भएका २३२ जनाको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको हो । शिविरको पहिलो दिन ७९ जना, दोस्रो दिन ८३ जना र तेस्रो दिन ७० जनाको आँखाको शल्यक्रिया गरिएको केन्द्रका इन्चार्ज आशिष भट्टले जानकारी दिए ।
बागमती नगरपालिका, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमती र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा तीनदिने शल्यक्रिया शिविर सञ्चालन भएको हो ।
गत पुस १५ गतेदेखि बागमती नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका र बसवरिया गाउँपालिकामा स्क्रिनिङ शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा एक हजार ६८१ जनाको आँखा जाँच गर्दा ३५० को आँखामा मोतिया बिन्दुको समस्या देखिएको थियो ।
प्रतिकूल मौसमका कारण धेरै वृद्ध बिरामीलाई शिविरसम्म ल्याउन नसक्दा सबै बिमारीको आँखाको शल्यक्रिया हुन नसकेको बागमती नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले बताए ।
शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानबाट डा रचना सिंह रानाको टोली खटिनुभएको थियो भने बागमती नगरपालिकाले बिरामीको खाने बस्ने व्यवस्था गरेको नगरका शिविर प्रतिनिधि सन्तबहादुर विश्वकर्माले बताए ।
गत वर्षदेखि तिलगङ्गा आँखा प्रतिष्ठानको शाखाका रूपमा बागमती नगरपालिका–१२, स्वास्थ्य केन्द्रको भवनमा सर्जिकल केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका आँखाको बिमारीले टाढा धाउनुपर्ने बाध्यता हटेको छ ।
बेलाबेलामा गाउँघरमै निःशुल्क शिविर आयोजना हुँदा सुविधा भएको बागमती नगरपालिका–७ का ७७ वर्षीय वीरबहादुर खड्काले बताए । सतहत्तर वर्षको उमेरमा आँखाको ज्योति फर्किएको भन्दै उनले खुसी व्यक्त गरे ।
Facebook Comments