मन्थली नगरपालिकामा कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना
मेलाले किसान र उद्यमीका उत्पादनको बजारीकरणमा योगदान पुग्ने विश्वास
No Author Assigned | २०८२ पुष २७ गते १७:५८रामेछाप । मन्थली नगरपालिकामा आजदेखि दुईदिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला–२०८२ आयोजना गरिएको छ ।
मन्थली नगरपालिकाले आयोजना गरेको मेलाको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेलले कृषि उद्यम विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताए। उनले मेलाले किसान र उद्यमीका उत्पादनको बजारीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नगरप्रमुख लव श्रेष्ठले नगरपालिका क्षेत्रमा उत्पादन तथा प्रशोधन गरिएका बाली र वस्तुको प्रवर्द्धन, ज्ञान, सीप र प्रविधि साटासाट, उत्पादक, उपभोक्ता र व्यापारीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए।
नगरपालिका आर्थिक विकास समितिका संयोजक नवराज थापामगरले प्रदर्शनीमा कृषिउपज ल्याउने किसानलाई निःशुल्क ‘स्टल’ उपलब्ध गराई खाने, बस्ने र ढुवानी एवं यातायात खर्चको समेत व्यवस्था गरिएको बताए। प्रदर्शनी मेलामा सहभागी भई उत्कृष्ट हुने कृषक तथा उद्यमीलाई मूल्याङ्कन गरी विभिन्न १० विधामा पुरस्कृत गरिने उनले जानकारी दिए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले करिब १० हजारले मेला अवलोकन गर्ने अनुमान रहेको बताए।
Facebook Comments