बाजुराको दानासाँघु खोलामा पक्की पुल र बेलिब्रिज निर्माण हुँदै

पुल नहुँदा बर्षातको समयमा सास्ती

User Image गोविन्द तिमिल्सेना | २०८२ पुष २७ गते ०८:४०
Image of https://mayorsap.com/storage/photos/shares/bridge.jfif

बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्डको बुढीनन्दा नगरपालिका– २ अन्तर्गत पर्ने दानासाँघु खोलामा मोटरेवल पक्की पुल र वेलिब्रिज पुल निर्माण कार्य धमाधम भइरहेको छ । 

लामो समयको अथक प्रयास पछि दानासाँघु खोलामा दुई वटा पुल बन्ने भएका छन् । बुढीनन्दा नगरपालिकाका नगर उपप्रमुख राम बहादुर बोहराले बेलिब्रिज पुल निर्माणको शिलान्यास गरेका थिए। त्यसको तीन दिन पछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पक्की पुलको शिलान्यास गरेका थिए।

बाजुराको एउटै नदीमा दुई वटा पुल निर्माणको लागी अहिले धमाधम काम भइरहेको छ। वर्षौँदेखि दानासाँघु खोलामा पुल नहुँदा यहाँका स्थानीयले सास्ती भोग्दै आएका थिए। बुढीनन्दा नगरपालिका नगरपालिकाका मात्र नभई छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट लगायत अन्य विभिन्न जिल्लाका नागरिकले पुल नहुँदा बर्षातको समयमा सास्ती खेपिरहेका थिए। जडाङ्गाको बेलिब्रिज दानासाँघु खोलामा स्थानान्तरणको लागि निर्माण कार्य भइरहेको छ। सडक डिभिजन कार्यालय साँफेबगरले करिब २ करोड २२ लाख लागतमा बेलिब्रिज पुल सार्न लागेको हो।

त्यस्तै यता सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकासको सहयोगमा सोही खोलामा पक्की पुल निर्माण हुन लागेको हो। प्रदेश सरकारको भ्याट र पिएस सहित ३ करोड ९३ लाख ७५ हजार ३ सय ९६ रुपैयाँ लागतमा पक्की पुल निर्माण भइरहेको छ। विसं २०८४ असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने गरि (PK.CPCS-AC JV) धनगढी ५ हसनपुर कैलालीले पक्की पुल निर्माणको ठेक्का लिएको छ। 

सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकासको सहयोगमा उक्त खोलामा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँमा पुल निर्माण कार्य भईरहेको पुर्वाधार विकास कार्यालय साफेबगर अछामका प्रमुख इन्जिनियर जंग थापाले जानकारी दिए। २५ मिटर लामो पक्की पूल निर्माण भए पछि बर्षौ देखिको समस्या समाधान हुने भएको छ।

जडाङ्गाको पुरानो बेलिब्रिजलाई सोही खोलामा स्थानान्तरण गरी राख्ने कार्य चलिरहेको छ। पक्की पूल निर्माण भए पछि बर्षौदेखिको स्थानीयको सपना साकार हुने बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए। पुल निर्माण सम्पन्न भए पश्चात् माथिल्लो क्षेत्रका ४ स्थानीय तहका नागरिक संगै छिमेकी जिल्ला हुम्ला, मुगु लगायत विभिन्न १५ बढि पालिकाका नागरिकलाई ठुलो सहजता मिल्ने नगर प्रमुख बोहराले जानकारी दिए।  


Facebook Comments