इरानमा झनै चर्कियो आन्दोलन, २१७ जना प्रदर्शनकारीकाे मृ*त्यु
इरानमा विद्रोह झनै हिंसात्मक
मेयरसाप डेस्क
|
२०८२ पुष २७ गते १०:४६
एजेन्सी । इरानमा महँगी र आर्थिक संकटविरुद्ध सुरु भएको प्रदर्शन अहिले हिंसात्मक जनविद्रोहमा बदलिएको छ ।
डिसेम्बर २८ बाट सुरु भएको यो आन्दोलनमा हालसम्म २१७ जनाभन्दा बढी प्रदर्शनकारी मारिएको दाबी गरिएको छ ।
टाइम म्यागजिन र बीबीसी का अनुसार राजधानी तेहरानका ६ अस्पतालमा २१७ र रश्त सहरको एकै अस्पतालमा ७० जनाको शव ल्याइएको पुष्टि भएको छ ।
सुरक्षा बलले भीडमा सिधै गोली चलाइरहेको छ भने रिभोलुसनरी गाड्र्सले प्रदर्शनमा आए गोली लाग्ने र त्यसको गुनासो नगर्न चेतावनी दिएको छ ।
सरकारले इन्टरनेट ठप्प पारेर प्रदर्शनकारीलाई मृत्युदण्ड सम्म हुन सक्ने ‘ईश्वर विरुद्धको अपराधी’को आरोप लगाउन थालेको छ ।
यो विद्रोहको मुख्य जड चरम महँगी र इरानी मुद्रा रियालको ऐतिहासिक अवमूल्यन हो । १ अमेरिकी डलरको मूल्य १४ लाख ५० हजार रियाल पुगेको छ । खाद्यान्नमा ७२ प्रतिशत मूल्यवृद्धि र आगामी बजेटमा ६२ प्रतिशत कर बढाउने प्रस्तावले आम नागरिकलाई सडकमा उतारेको छ ।
सर्वोच्च नेता अली खामेनीले यो प्रदर्शन विदेशी एजेन्टहरूको उक्साहटमा भएको दाबी गर्दै अमेरिकालाई खुसी पार्न देश बर्बाद नगर्न चेतावनी दिएका छन् । अर्कोतर्फ, ५० वर्षदेखि अमेरिकामा निर्वासनमा रहेका क्राउन प्रिन्स रजा पहलवीले आफू देश फर्कने तयारीमा रहेको घोषणा गरेका छन् ।
४७ वर्षदेखि जारी धार्मिक शासनबाट आजित युवा पुस्ताले उनलाई लोकतान्त्रिक विकल्पका रूपमा हेर्दै शाह जिन्दावादको नारा लगाइरहेका छन् ।
Facebook Comments