महामन्त्रीद्वय थापा र शर्माद्वारा कांग्रेस विशेष महाधिवेशनको उद्घाटन
मेयरसाप डेस्क
|
२०८२ पुष २७ गते १४:४५
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको औपचारिक उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका छन् ।
आइतबार दिउँसो भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा आयोजित विशेष समारोहमा दुवै महामन्त्रीले संयुक्त रूपमा पानसमा बत्ती बालेर महाधिवेशनको शुभारम्भ गरेका हुन् ।
पार्टीभित्रको आन्तरिक खिचातानीका बीच सुरु भएको यस महाधिवेशनमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सहभागी गराउन पक्षधर नेताहरूले बिहानैदेखि प्रयास गरेका थिए । यद्यपि, उद्घाटन सत्रमा महामन्त्रीद्वयकै नेतृत्व देखिएको छ ।
उद्घाटन हुनुअघि विशेष महाधिवेशनको समर्थनमा राजधानीका विभिन्न ६ स्थानबाट विशाल र्याली निकालिएको थियो । ललितपुरको कुपण्डोलसहित काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या, शंकरदेव क्याम्पस र कमलपोखरीबाट निस्किएका कार्यकर्ताहरू नाराबाजीसहित भृकुटीमण्डपमा जम्मा भएका थिए ।
Facebook Comments