मुलुककै गरिबीको छैटौँ स्थानमा राक्सिराङ गाउँपालिका
६५ प्रतिशत जनता गरिबीको रेखामुनि
मेयरसाप डेस्क
|
२०८२ पुष २७ गते १५:०१
हेटौँडा । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान–२०८२’ अनुसार मकवानपुरको राक्सिराङ गाउँपालिका मुलुककै बढी गरिबी दर भएका १० स्थानीय तहमध्ये छैटौँ स्थानमा परेको छ ।
चेपाङ समुदायको बाहुल्यता रहेको यस पालिकाका ६५.६४ प्रतिशत बासिन्दा गरिबीको रेखामुनि रहेका छन् ।
प्रतिवेदन अनुसार नेपालमा सबैभन्दा बढी गरिबी जाजरकोटको जुनीचाँदी गाउँपालिकामा ७७.८९ प्रतिशत छ, भने सबैभन्दा कम मुस्ताङको घरपझोङ गाउँपालिकामा १.१८ प्रतिशत मात्र छ ।
पालिकाका अध्यक्ष राजकुमार मल्लले संघीय र प्रदेश सरकारको लगानी विकट र गरिब क्षेत्रमा केन्द्रित हुन नसक्दा राक्सिराङ जस्ता पालिकाहरू बहुआयामिक गरिबीको चपेटामा परेको गुनासो गरेका छन् ।
वार्षिक ७२ हजार ९०८ रुपैयाँ खर्च गर्न नसक्ने व्यक्तिलाई गरिबीको रेखाभन्दा मुनि राखिएको छ । सबैभन्दा बढी गरिबी अछाममा ४९.५८ प्रतिशत र सबैभन्दा कम कास्कीमा ५.६३ प्रतिशत रहेको छ ।
जाजरकोटको जुनीचाँदी गाउँपालिका (प्रथम), मुगुको सोरु गाउँपालिका (दोस्रो) र अछामको ढकारी गाउँपालिका (तेस्रो) स्थानमा छन् । शीर्ष १० मा सुदूरपश्चिमका ६ वटा पालिका समेटिएका छन् ।
काठमाडौं महानगरपालिकामा प्रतिशतका आधारमा गरिबी कम ८.८७ प्रतिशत देखिए पनि जनसंख्या धेरै भएकाले संख्याको हिसाबले सबैभन्दा बढी ५९,२१८ जना गरिब यहीँ बसोबास गर्छन् ।
वि.सं. २०३४ मा ३६ प्रतिशत रहेको गरिबी २०४८ मा ४९ प्रतिशत पुगेको थियो । हाल राष्ट्रिय औसत गरिबी २०.२७ प्रतिशत रहेको छ । सरकारले १६औँ योजनामार्फत २०८६ सम्म यसलाई १२ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
Facebook Comments