देशको सबैभन्दा लामो ‘चक्रपथ’ भरतपुरमा उद्घाटन

केरुङ्गा खोलाको सौन्दर्यीकरण सम्पन्न

User Image मेयरसाप डेस्क | २०८२ पुष २९ गते १३:५१
Image of https://mayorsap.com/storage/photos/shares/img-3956.JPG

चितवन । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको ८८.६ किलोमिटर लामो बृहत् चक्रपथ (रिङरोड) को सोमबार औपचारिक उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ गोन्द्राङस्थित जिरो किलोमिटरबाट संयुक्तरूपमा यसको उद्घाटन गरेका हुन् ।

करिब सात वर्षअघि सुरु भएको यो आयोजना अहिले राष्ट्रिय राजमार्ग (एनएच–७७) का रूपमा समेत सूचीकृत भएको छ । सघं, प्रदेश र स्थानीय सरकारको अर्बौँ लगानीमा सम्पन्न यो सडकले महानगरका अधिकांश वडाहरूलाई जोड्नेछ ।

उद्घाटनका क्रममा प्रमुख दाहालले भौतिक पूर्वाधारमा भरतपुरले ठूलो फड्को मारेको उल्लेख गर्दै अबको प्राथमिकता सामाजिक विकास र रोजगारी सिर्जना हुने बताइन् । हाल सडक पूर्ण रूपमा पक्की भइसकेको र आगामी दिनमा यसलाई दुई लेनमा स्तरोन्नति गर्ने महानगरको योजना छ ।

त्यसैगरी, सोमबार नै ३०.२ किलोमिटर लामो केरुङ्गा खोला सौन्दर्यीकरण अन्तर्गत वडा नम्बर ९ र १२ मा सम्पन्न भएका कामहरूको पनि उद्घाटन गरिएको छ । महानगरभित्रका पुङ्गी र केरुङ्गा खोलालाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानअन्तर्गत यो कार्य अघि बढाइएको हो ।

उपप्रमुख चित्रसेन अधिकारीले चक्रपथ र खोला करिडोर निर्माणले महानगरको वातावरणीय सन्तुलन र पर्यटकीय विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।


Facebook Comments