कारबाहीपछि गगनले भने– ‘पार्टी विभाजन होइन, नयाँ नेतृत्व रोजेका हौँ’
"देउवाको विकल्प अनिवार्य छ"
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते १६:१७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन नै अहिलेको असली नेपाली कांग्रेस भएको दाबी गर्दै निर्वाचन प्रक्रिया नरोकिने बताएका छन् ।
संस्थापन पक्षले गरेको कारबाहीको कुनै तुक नरहेको भन्दै उनले अधिवेशनको बन्द सत्रले गर्ने निर्णय नै पार्टीको आधिकारिक निर्णय हुने जिकिर गरे । थापाले आफूहरूको मुख्य विमति सभापति शेरबहादुर देउवाको नेतृत्वसँग रहेको स्पष्ट पारे ।
‘सभापतिज्यूकै नेतृत्वमा कांग्रेस आगामी निर्वाचनमा जान सक्दैन। मतदाताले कांग्रेसलाई मत दिनुको अर्थ फेरि देउवा नै प्रधानमन्त्री बन्नु हो,’ उनले भने, ‘हामीले गगन थापालाई नै प्रधानमन्त्री बनाऊँ भनेका होइनौँ, तर देउवाको विकल्प खोजौँ भनेका हौँ।’
भदौ २३ र २४ को घटनापछि कांग्रेस बदलिएको सन्देश दिन पनि नेतृत्व परिवर्तन अनिवार्य रहेको उनको तर्क छ । विगत केही दिनदेखि सहमतिको प्रयास भए पनि सभापति देउवाले केवल ६०–४० को भागबन्डा र प्राविधिक कुरामा मात्र अल्झाएको थापाको आरोप छ ।
“हामीले उहाँलाई कार्यकारी भूमिकाबाट अलग हुन आग्रह गर्यौँ, तर उहाँले पद छोड्न मान्नुभएन। उहाँ राजीनामा दिएर अलग भइदिएको भए हामी नै उहाँको सबैभन्दा बढी जयजयकार गर्ने थियौँ,” उनले भने ।
वैशाखसम्म कुर्न नसकेको भन्ने प्रश्नमा थापाले यो देश, समाज र कांग्रेसका शुभेच्छुकहरूले पर्खन सक्ने अवस्था नरहेकाले विशेष महाधिवेशनको बाटो रोजिएको बताए ।
निर्वाचन आयोगले पनि न्यूनतम कानुनी प्रक्रिया हेर्ने विश्वास व्यक्त गर्दै उनले आफूहरूले चालेको कदम पार्टी विभाजन नभई वैधानिक सुधारको प्रयास भएको दाबी गरे ।
विशेष महाधिवेशनले नेतृत्व चयन गरेलगत्तै आयोगमा आधिकारिकताका लागि दाबी पेश गर्ने र रुख चिन्ह तथा झण्डामा आफूहरूकै दाबी रहने उनले प्रष्ट पारे ।
Facebook Comments