नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते १६:४३
काठमाडौं । घरेलु मैदानमा भएको पहिलो अभ्यास खेलमा नेपाली महिला टोली आयरल्यान्डसँग ९९ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०० रनको विशाल योगफल तयार पारेको थियो ।
आयरल्यान्डका लागि कप्तान ग्याबी लुइसले ७७ र ओर्ला प्रेन्डरगास्टले ६२ रनको आक्रामक पाली खेले । नेपालका लागि रुबिना क्षेत्रीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् भने रिया शर्माले १ विकेट हात पारिन् ।
२०१ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा मात्र १०१ रनमा समेटियो । नेपालका लागि कविता जोशीले २८, विन्दु रावलले २५ र कप्तान इन्दु बर्माले १२ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
आयरल्यान्डका बलरहरू प्रेन्डरगास्ट, लारा म्याकब्रिज, एर्लिन केली र एमी मगाइरले समान २–२ विकेट लिए । नेपालले अब आफ्नो दोस्रो अभ्यास खेल शुक्रबार कीर्तिपुरमा अमेरिकासँग खेल्नेछ ।
Facebook Comments