रविको मुद्दा फिर्ताले कानुनी राज्यको उपहास !

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते १३:००
Image of https://mayorsap.com/storage/photos/shares/shankar-pokharel-1.jpg

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ता लिने सरकारको निर्णयले कानुनी राज्यको उपहास गरेको बताएका छन् ।  बिहीबार घोराहीमा प्रेस चौतारी दाङले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यो निर्णय तत्काल सच्याउन सरकारसँग माग गरे ।

महासचिव पोखरेलले प्रहरी र अदालतमाथि हुने आक्रमण तथा मुद्दा फिर्ता लिने जस्ता कार्यले भदौ २३ र २४ गतेको आन्दोलनको वास्तविक उद्देश्य पुष्टि गरेको दाबी गरे । नयाँ शक्तिको नाममा कानुनी राज्यलाई चुनौती दिनु अराजकता भएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समेत यस्तो गलत निर्णयको विरोध गर्नुपर्ने धारणा राखे ।

सुरक्षा निकायको मनोबल गिराएर देशमा शान्ति सुरक्षा कायम हुन नसक्ने भन्दै उनले सरकारका गतिविधिहरू प्रहरीको मनोबल बढाउनेतर्फ केन्द्रित नभएकोमा चिन्ता व्यक्त गरे । यस्तै, लोकप्रियतावाद अहिले अराजकतावादमा परिणत भइरहेको र यसले समाजमा नयाँ र पुरानो पुस्ताबीच द्वन्द्व सिर्जना गरी देश विखण्डन गर्ने षड्यन्त्र भइरहेको उनको आरोप छ ।

लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरू सुदृढ हुनुपर्नेमा जोड दिँदै उनले कांग्रेसले पनि समयमै सचेत भएर आन्तरिक एकता कायम गर्नुपर्ने सुझाव दिए । नेपाली समाज नयाँ र पुरानो पुस्ताको सहकार्यबाटै समृद्ध हुने भन्दै उनले लोकतान्त्रिक मान्यताको सम्मान गर्न सबै पक्षलाई आग्रह गरे ।


Facebook Comments