अबदेखि ५ लाखभन्दा बढी नगद बोक्न नपाइने

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते १२:४२
Image of https://mayorsap.com/storage/photos/shares/photo_58.jpg

काठमाडौं । सरकारले अर्थतन्त्रलाई थप पारदर्शी र औपचारिक बनाउने उद्देश्यले आजदेखि ५ लाख रुपैयाँभन्दा बढीको नगद कारोबारमा रोक लगाएको छ ।

गत मङ्सिर १६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो । यसअघि १० लाख रुपैयाँसम्मको नगद कारोबार गर्न पाइने कानुनी व्यवस्था रहेकामा अब त्यो सीमालाई आधा घटाइएको छ ।

यो नयाँ नियम लागू भएसँगै अब ५ लाख वा सोभन्दा बढी मूल्यको कुनै पनि वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बैंक वा डिजिटल माध्यमबाट मात्र भुक्तानी गर्नुपर्नेछ ।

कर छली, अवैध धनको प्रयोग र सम्पत्ति शुद्धीकरण जस्ता गतिविधि नियन्त्रण गर्न यो कदम चालिएको अर्थ मन्त्रालयले जनाएको छ । बैंकिङ माध्यमबाट कारोबार हुँदा प्रत्येक पैसाको हिसाब पारदर्शी हुने र वित्तीय प्रणाली जवाफदेही बन्ने सरकारको विश्वास छ ।

नगद कारोबारसँगै चेक भुक्तानीमा पनि कडाइ गरिएको छ । अब ५ लाखभन्दा बढीको चेक अनिवार्य रूपमा ’एकाउन्टपेयी’ हुनुपर्नेछ भने यो नियम बैंक मात्र नभई लघुवित्त र सहकारी संस्थाहरूमा समेत लागू हुनेछ ।

नियम पालना भए नभएको अनुगमनका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई सीमाभन्दा बढीको भुक्तानीको मासिक विवरण अद्यावधिक राख्न निर्देशन दिइएको छ ।


Facebook Comments