इजलासमै महिला अधिवक्तामाथि अभद्र व्यवहार, छानबिन सुरु
कानुन व्यवसायी परिषद् पुगिन् पाठक
मेयरसाप डेस्क
|
२०८२ माघ १ गते १४:४५
काठमाडौं । धादिङ जिल्ला अदालतमा बहसका क्रममा महिला अधिवक्तामाथि अभद्र व्यवहार र धम्की दिएको आरोपमा नेपाल कानुन व्यवसायी परिषद्ले छानबिन प्रक्रिया अघि बढाएको छ ।
अधिवक्ता तोलाकुमारी पाठकले अर्का अधिवक्ता गुणराज आचार्यविरुद्ध कार्यस्थलमै अपमानित गरेको र व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेको भन्दै कारबाहीको मागसहित उजुरी दर्ता गराएकी हुन् ।
पाठकले प्रमाणका रूपमा गत पुस ८ गतेको इजलासभित्रको सीसीटीभी फुटेज समेत परिषद्मा पेस गरेकी छन् । उजुरीमा उल्लेख गरेअनुसार एक जालसाजी मुद्दामा वादीको तर्फबाट बहस गरिरहेकी पाठकलाई विपक्षीका अधिवक्ता आचार्यले पटक–पटक धम्क्याउने र अपशब्द बोल्ने गरेका थिए ।
गत भदौ २८ गते अदालत परिसरमै मुद्दा फिर्ता लिन धम्की दिएको र पुस ८ गते इजलासभित्रै बकपत्र लिने क्रममा ’आइमाईको जात’ भन्दै अपमानजनक शब्द प्रयोग गरी थर्काएपछि आफू इजलासमै रोएको पाठकले उल्लेख गरेकी छिन् ।
अधिवक्ता आचार्यले कानुन व्यवसायीको व्यावसायिक आचरण सम्बन्धी नियमावली, २०७९ का विभिन्न नियमहरूको गम्भीर उल्लङ्घन गरेको दाबी गर्दै पाठकले कडा कारबाहीको माग गरेकी छन् ।
Facebook Comments