पार्टी विवरण अद्यावधिक गर्न गगन थापा निर्वाचन आयोगमा

विधानसम्मत नेतृत्व चयन भएको दाबी

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते १५:१६
Image of https://mayorsap.com/storage/photos/shares/photo_59.jpg

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वको टोलीले पार्टीको नयाँ विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा औपचारिक निवेदन दिएको छ ।

बिहीबार कानुनविद् र पदाधिकारीसहित आयोग पुगेका सभापति थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर नयाँ कार्यसमितिलाई कानुनी मान्यता दिन अनुरोध गरेका हुन् ।

निर्वाचनको समय नजिकिँदै गएकाले चुनावी तयारीका लागि पार्टीको विवरण छिटो अद्यावधिक हुनुपर्नेमा उनले जोड दिए ।

आयोगसँगको छलफलमा सभापति थापाले पार्टी विधानको धारा १७ को उपधारा २ मा रहेको बाध्यकारी व्यवस्था अनुसार नै विशेष महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिएको जानकारी गराए ।

विधानसम्मत प्रक्रियाबाट आएको नयाँ कार्यसमितिलाई आयोगले अभिलेखमा जनाउनुपर्ने तर्क गर्दै उनले लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरे । 

शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षबीच आधिकारिकताको विवाद बढिरहेका बेला थापा समूहले आयोगमा पुगेर आफ्नो वैधानिकताका लागि कानुनी दाबी पेस गरेको हो ।


Facebook Comments