आफ्नै तलबबाट गाउँपालिका अध्यक्षले गरे विद्यार्थीलाई सहयोग
उत्कृष्ट विद्यार्थीलाई बिसीको व्यक्तिगत सहयोग
मेयरसाप डेस्क
|
२०८२ माघ १ गते १६:०३
अछाम । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले आफ्नो व्यक्तिगत सेवा–सुविधाबापतको रकम विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरेका छन् ।
गाउँपालिका–३ भैरबस्थानस्थित बसुन्धरा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा उनले कक्षा १ देखि १२ सम्मका उत्कृष्ट १२ जना जेहेन्दार विद्यार्थीलाई नगद सहयोग गरेका हुन् ।
विद्यालय स्रोतका अनुसार, अध्यक्ष बिसीले निर्वाचित भएपछि पाउने एक महिनाको पारिश्रमिक बराबरको ३० हजार रुपैयाँ जनही २ हजार ५ सयका दरले वितरण गर्दै आएका छन् ।
औपचारिक भाषणमा मात्र सीमित नभई शिक्षा क्षेत्रमा प्रत्यक्ष टेवा पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको अध्यक्ष बिसीको भनाइ छ । बिसीको यो सहयोगले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा जगाएको शिक्षकहरु बताउँछन् ।
निर्वाचित भएदेखि नै शिक्षालाई उच्च प्राथमिकतामा राख्नुभएका अध्यक्ष बिसीले गाउँपालिकाको कुल बजेटको करिब आधा हिस्सा शिक्षा क्षेत्रमै विनियोजन गर्दै आइरहेका छन् ।
Facebook Comments