उज्यालो नेपाल देशकै नम्बर वान पार्टी बन्छ : अध्यक्ष घिसिङ
मेयरसाप डेस्क
|
२०८२ माघ २ गते १३:०५
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता प्रयासलाई ‘अध्यारो सुरुङ’को संज्ञा दिँदै अब आफ्नो पार्टी कहिल्यै कसैसँग नझुक्ने उद्घोष गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित ‘उज्यालो जम्काभेट’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले १२ दिनसम्म पार्टी ‘कोमा’मा बसेको भए पनि अहिले झन् सफा, शुद्ध र ऊर्जाशील भएर निस्केको दाबी गरे ।
एकताको प्रक्रियाले पार्टीलाई क्षति पुर्याएको उल्लेख गर्दै उनले अब भविष्यमा कुनै पनि दलसँग एकीकरण वा मर्जर नगर्ने स्पष्ट पारे । आफ्नो पार्टीलाई समानुपातिक उम्मेदवार सूची राख्नबाट वञ्चित गरिएको आरोप लगाउँदै निर्वाचन आयोगसँग पुनः दर्ताको माग गर्ने उनी बताउँछन् ।
आफ्नो पार्टीले २० देखि २५ लाख समानुपातिक मत ल्याउने आँकलन रहेको दाबी गर्दै उनले उम्मेदवारी दर्ता गर्न नदिए आन्दोलन गर्ने चेतावनी दिए ।
उज्यालो नेपाल पार्टीलाई देशकै ‘नम्बर वान’ र सबैभन्दा विश्वासिलो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने संकल्प गर्दै उनले अन्य शक्तिहरूलाई आफ्नो पार्टीमा आबद्ध हुन आह्वान समेत गरे ।
Facebook Comments