पर्सामा निर्वाचन प्रहरीमा मागभन्दा दोब्बर आवेदन
मेयरसाप डेस्क
|
२०८२ माघ २ गते १२:३५
वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लामा आह्वान गरिएको निर्वाचन प्रहरीमा मागभन्दा दोब्बर बढी आवेदन परेको छ ।
जिल्ला निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरी २ हजार ८५२ जना माग गरेकोमा नेपाल प्रहरीतर्फ मात्रै ५ हजार ३९९ जनाको आवेदन परेको छ ।
सशस्त्र प्रहरीतर्फ ३८५ जनाको माग रहेकामा माघ १ गतेसम्म ५२१ जनाले आवेदन दिइसकेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आवेदन दिनेमा युवादेखि पूर्वसुरक्षाकर्मीसम्मको उल्लेख्य सहभागिता छ ।
नेपाल प्रहरीतर्फ नयाँ आवेदन दिनेमा ३ हजार १४७ पुरुष र ६०३ महिला छन् भने विगतमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका ८४० जना (पुरुष र महिला) ले पुनः आवेदन दिएका छन् ।
यस्तै, रौतहट जिल्लामा पनि ३ हजार ८५१ जनाको माग भएकोमा ६ हजार ७३६ जनाको आवेदन परेको छ । फागुनको निर्वाचनलाई लक्षित गरी सुरक्षा जनशक्ति व्यवस्थापन गर्न दुवै जिल्लामा छनोट प्रक्रिया तीव्र पारिएको छ ।
Facebook Comments