कांग्रेस विभाजनले चुनाव रोकिँदैन : प्रचण्ड

User Image मेयरसाप डेस्क | २०८२ माघ २ गते १७:०१
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2026-01-16-at-24358-pm.jpeg

चितवन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने स्पष्ट पारेका छन् । शुक्रबार भरतपुर महानगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उनले निर्वाचनको विकल्प नरहेकाले कुनै पनि अन्योलमा नबस्न आग्रह गरे ।

नेपाली कांग्रेसमा देखिएको विभाजनलाई लक्षित गर्दै उनले ठूलो पार्टी फुट्नु सुखद नभए पनि यसले निर्धारित निर्वाचन प्रक्रियामा कुनै असर नपर्ने बताए । सोही अवसरमा संयोजक दाहालले भरतपुर महानगरले पूर्वाधार, शिक्षा र स्वास्थ्यमा गरेको समानुपातिक विकासका कारण यो देशकै नमुना महानगर बनेको प्रशंसा गरे ।

५३ करोड ३२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको महानगरको ६ तले नयाँ भवन सङ्घीय सरकार, वाग्मती प्रदेश र महानगरपालिकाको संयुक्त लगानीमा तयार भएको हो । उद्घाटन कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भवन निर्माणको प्राविधिक र आर्थिक पक्षबारे जानकारी दिए ।


Facebook Comments