राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु, शोक प्रस्ताव पारित

User Image मेयरसाप डेस्क | २०८२ माघ ४ गते १२:०७
Image of https://mayorsap.com/storage/photos/shares/gd-ktm-dg-2815.jpg

काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु भएको छ । सिंहदरबारस्थित पुरानो भवनमा सुरु भएको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्दै सदस्यहरूलाई स्वागत गरेका थिए ।

अधिवेशनको पहिलो बैठकले राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । विसं २०७० मा संविधानसभा सदस्य र २०८० मा राष्ट्रियसभा सदस्य निर्वाचित भएका कञ्चनपुर निवासी बोहराको ७४ वर्षको उमेरमा गत पुस ३० गते निधन भएको थियो ।

सभाले लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति सम्मान व्यक्त गर्दै मौन धारण समेत गरेको थियो ।

स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभामा हाल नेकपाका २५, कांग्रेसका १७, एमालेका ९, जसपाका ३, लोसपाका १, जनमोर्चाका १ र मनोनीत ३ सदस्य रहेका छन् ।

यही माघ ११ गते रिक्त हुने १९ सदस्यका लागि निर्वाचन हुने कार्यक्रम छ । राष्ट्रियसभाको अर्को बैठक आगामी माघ ९ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्ने तय भएको छ ।


Facebook Comments