प्रतिनिधिसभा निर्वाचनः बाजुरामा ६२ वटा मतदानस्थल अतिसंवेदनशील
कुल मतदानस्थलको ८०.५१ प्रतिशत 'अतिसंवेदनशील मतदानस्थल'
गोविन्द तिमिल्सेना
|
२०८२ माघ ५ गते १६:०२
बाजुरा । बाजुराका ६२ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । कुल ७७ मतदानस्थलमध्ये ६२ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार अतिसंवेदनशील मतदानस्थलको संख्या कुल मतदानस्थलको ८०.५१ प्रतिशत रहेको छ ।अतिसंवेदनशील र संवेदनशील मतदानस्थलहरूमा सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थितिलाई आधार मानी सुरक्षा व्यवस्था कडाइ गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्ता मतदानस्थलमा थप सुरक्षाकर्मी परिचालन, निगरानी वृद्धि र विशेष सुरक्षा योजना लागू गरिने तयारी गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गरिने उल्लेख गर्दै कुनै पनि किसिमका अवाञ्छित गतिविधिमा संलग्न नहुन सरोकारवाला सबैलाई आग्रह गरेको छ ।
विगतका जस्ता घटना घट्न नदिन जोखिम रहेका मतदानस्थलाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो। बाजुरामा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दुई जनाले ज्यान समेत गुमाएका थिए। बाजुरा चुनावको बेला चर्चामा आउँने जिल्लाको रुपमा चिनिदैँ आएको छ।
बाजुरामा ७ वटा मतदानस्थल र ६ वटा मतदान केन्द्र थप भएका छन्। जिल्ला निर्वाचन कार्यालयले यसअघि मतदानस्थल र केन्द्र थपका लागि निर्वाचन आयोगमा सिफारिस गरेको थियो । ९ वटा स्थानीय तह रहेको बाजुरामा यसअघि ७० वटा मतदानस्थल र एक सय १२ वटा मतदान केन्द्र रहेका थिए ।
बाजुरामा ८७ हजार बढी मतदाता संख्या कायम छन्। ४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन्।जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ।
Facebook Comments