नेपाललाई ८ खर्बको घाटा, निर्यातमा सोयाविन तेलकै भरोसा
९ खर्बको आयात हुँदा डेढ खर्बको निर्यात
मेयरसाप डेस्क
|
२०८२ माघ ७ गते १७:४१
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा करिब ८ खर्ब पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले कुल १० खर्ब ८१ अर्ब ४ करोडको वैदेशिक व्यापार गर्दा ७ खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको हो । गत वर्षको तुलनामा कुल व्यापार १७.३६ प्रतिशत र व्यापार घाटा १०.१५ प्रतिशतले वृद्धि भएको छ ।
तथ्याङ्कअनुसार ६ महिनामा ९ खर्ब ३९ अर्ब २ करोडको आयात हुँदा मात्र १ खर्ब ४२ अर्ब १ करोडको निर्यात भएको छ । कुल व्यापारमा आयातको हिस्सा ८६.८६ प्रतिशत रहँदा निर्यातको हिस्सा १३.१४ प्रतिशतमा खुम्चिएको छ ।
नेपालले सबैभन्दा ठुलो व्यापारिक साझेदार भारतसँग मात्रै ४ खर्ब १६ अर्ब ७१ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ, भने चीनसँगको व्यापार घाटा १ खर्ब ९५ अर्ब ३६ करोड रहेको छ ।
नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात गरेको छ । ६ महिनामा ५८ अर्बको डिजेल, ३३ अर्बको पेट्रोल र २७ अर्बको खाना पकाउने ग्यास भित्रिएको छ । यस्तै २३ अर्बको स्मार्टफोन र ५७ अर्बको अप्रशोधित सोयाविन तेल आयात भएको छ ।
निर्याततर्फ भने प्रशोधित सोयाविन तेलले नै बजार ओगटेको छ । कुल निर्यातमध्ये ५६ अर्ब ८ करोडको सोयाविन तेल मात्रै रहेको छ, भने अलैँची ७ अर्ब १९ करोड र कार्पेट ३ अर्ब ११ करोडको निर्यात भएको छ ।
नेपालको व्यापार घाटा अर्जेन्टिना, यूएई, इन्डोनेसिया र थाइल्याण्डसँग उच्च रहँदा केही मुलुकसँग भने नाफा देखिएको छ । व्यापार नाफा रहेका देशको शीर्ष स्थानमा डेनमार्क छ, जससँग ४१ करोड ८६ लाख रुपैयाँ नाफा छ ।
यस्तै रोमानिया, स्वीडेन, इराक र नर्वेसँग पनि नेपालको व्यापार सकारात्मक देखिएको छ । ६ महिनाको अवधिमा वस्तु आयातबाट सरकारले २ खर्ब ३८ अर्ब ५३ करोड भन्सार राजस्व सङ्कलन गरेको छ ।
Facebook Comments