भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६ करोड ७८ लाख भ्रष्टाचार गरेको आरोप
No Author Assigned | २०८२ माघ १४ गते १४:४१
चितवन।भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले आचार्यले सार्वजनिक सेवामा रहँदा भ्रष्टाचार गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती लिली सुवेदीको नाममा समेत खरिद गरेको पाइएको जनाएको छ।
आयोगका अनुसार आचार्यले आफ्नो पद र पहुँचको दुरुपयोग गर्दै स्रोत नखुल्ने सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा विस्तृत अनुसन्धान गरिएको थियो। अनुसन्धान क्रममा उनले इन्जिनियर सेवामा प्रवेश गरेदेखि विभिन्न अवधिमा प्राप्त वैधानिक आय र खर्चको तुलना गर्दा ठूलो अन्तर देखिएको आयोगको निष्कर्ष छ।
आयोगका अनुसार आचार्यले २०४६ सालदेखि २०८० सालसम्म विभिन्न स्रोतबाट तलब, भत्ता, भाडा आम्दानी, सवारी तथा जग्गा बिक्रीबाट प्राप्त रकम, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त ऋण, ब्याज आम्दानी लगायत शीर्षकमा जम्मा तीन करोड ५१ लाख आठ हजार दुई सय ९१ रुपैयाँ आम्दानी गरेको देखिएको छ।
तर सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, पारिवारिक खर्च, बीमा शुल्क, बैंक ऋणको साँवा–ब्याज भुक्तानी, विभिन्न फर्म तथा व्यवसायमा लगानी, नगद तथा बैंक मौज्दातलगायत शीर्षकमा १० करोड २९ लाख ९९ हजार दुई सय ८३ रुपैयाँ खर्च तथा लगानी गरेको आयोगको दाबी छ।
आयोगका अनुसार आचार्यको कुल वैधानिक आयभन्दा छ करोड ७८ लाख ९१ हजार ४५ रुपैयाँ बढी खर्च देखिएको छ, जसको स्रोत पुष्टि हुन नसकेको भन्दै सो रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालिएको छ।
Facebook Comments