स्वास्थ्य बिमाको ३ करोड भुक्तानी नपाउँदा पर्वत अस्पताल संकटमा
तलब खुवाउनै धौ-धौ, सेवा नै प्रभावित हुने डर
मेयरसाप डेस्क
|
२०८२ माघ १८ गते १०:३९
पर्वत । स्वास्थ्य बिमावापतको ठुलो रकम भुक्तानी नपाउँदा पर्वत जिल्लाको एक मात्र सुविधासम्पन्न प्रदेश अस्पताल सङ्कटमा परेको छ ।
सरकारबाट गत आर्थिक वर्षदेखिको स्वास्थ्य बिमा र डायलायसिसवापतको ३ करोड रुपैयाँभन्दा बढी रकम नपाएपछि अस्पतालको दैनिक कार्य सञ्चालनमै समस्या देखिएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलका अनुसार, रकम अभावमा औषधि र उपकरण खरिद, कर्मचारीको तलब भत्ता तथा ल्याब सेवा व्यवस्थापन गर्न कठिन भइरहेको छ ।
‘बिमा गरेका बिरामीलाई सेवा त दिनैपर्छ, तर सरकारले भुक्तानी नदिँदा औषधि खरिद प्रक्रिया नै अवरुद्ध भएको छ,’ डा. पौडेलले भने । हालसम्म अस्पतालले आन्तरिक कोषबाट जेनतेन खर्च चलाउँदै आए पनि अब भने अवस्था नियन्त्रण बाहिर जान थालेको उनको भनाइ छ ।
पर्वतका झन्डै ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याबहादुर परियारले बिल भर्पाइ पठाइसक्दा पनि मन्त्रालयबाट रकम निकासा नहुनु दुःखद भएको बताए ।
केही दिनअघि मात्रै अस्पताल निरीक्षणमा पुग्नुभएकी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमलाई यसबारे ज्ञापनपत्र बुझाइएको थियो ।
जवाफमा मन्त्री गौतमले देशभरकै अस्पतालमा यस्तो समस्या रहेको र सरकारले बजेट व्यवस्थापनका लागि स्रोत खोजिरहेको जानकारी दिएकी थिइन् ।
Facebook Comments