माधव नेपालको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्न अदालतको आदेश

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा

User Image मेयरसाप डेस्क | २०८२ माघ १८ गते १५:००
Image of https://mayorsap.com/storage/photos/shares/madhav-parkaran.jpg

काठमाडौं । विशेष अदालतले बहुचर्चित पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा साक्षी बुझ्ने आदेश दिएको छ ।

न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले आइतबार यो मुद्दाका प्रमाण र सत्यतथ्य केलाउन साक्षीहरूलाई उपस्थित गराउने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते तत्कालीन प्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ सालमा काभ्रेको साँगास्थित हदबन्दीभन्दा बढी रहेको जग्गालाई कानुनविपरीत खरिद–बिक्री र सट्टापट्टा गर्न स्वीकृति दिएको अख्तियारको अभियोग छ ।

सुरुमा मन्त्रिपरिषद्ले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा किन्न पतञ्जलिलाई अनुमति दिएको र पछि सोही जग्गा बेच्न समेत पाउने गरी विवादास्पद निर्णय गरेको अनुसन्धानबाट खुलेको थियो ।

यसै प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ । यसअघि असार ११ गतेको प्रारम्भिक सुनुवाइमा अदालतले उनलाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।


Facebook Comments