एकमहिने माधवनारायण मेला सम्पन्न

User Image मेयरसाप डेस्क | २०८२ माघ १८ गते १४:४३
Image of https://mayorsap.com/storage/photos/shares/img-1871.jpg

भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा सञ्चालित एकमहिने माधवनारायण मेला एवं व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिवत् सम्पन्न भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको यस कठिन व्रतमा यस वर्ष महिला र पुरुष गरी ३५ जना व्रतालु सहभागी थिए ।

पुजारी सरोजन शर्माका अनुसार नेपाल संवत् ८ औँ शताब्दीदेखि चल्दै आएको यो व्रत साँखुको शालिनदीभन्दा पनि पुरानो मानिन्छ । शिलालेखहरूमा तत्कालीन राजा रणजित मल्ल आफैँ उपस्थित भएर नेसं ७२२ मा यस व्रतको व्यवस्थापन गरेको उल्लेख छ । व्रतको अन्तिम दिन आज व्रतालुहरूले नगर परिक्रमा गरी भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर अनुष्ठान समापन गरेका छन् ।

व्रतका क्रममा व्रतालुहरूले खाली खुट्टा हिँडेर पनौतीको त्रिवेणी, पशुपति र चाँगुनारायणसम्मको कलश यात्रा गरेका थिए । त्रिवेणी कुण्डमा डुबेर एकचित्त भई मागेको बर पूरा हुने जनविश्वासका कारण यहाँ टाढा–टाढाबाट श्रद्धालुहरू स्नान र पूजाका लागि आउने गर्दछन् । समापनका दिन आज त्रिवेणीधाममा २०० भन्दा बढी महिलाहरूले स्नान गरी विशेष पूजाआजा गरेका छन् ।

हनुमन्ते खोलामा ढलको प्रदूषण बढेका कारण पछिल्ला वर्षहरूमा व्रतालुको सङ्ख्या घट्दै गएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । मेलाका लागि भक्तपुर नगरपालिकाले खोलामा डोजर लगाएर खाल्डो खनी इनारको सफा पानी हालेर स्नान गर्ने व्यवस्था मिलाएको थियो । नगरपालिकाले ढल व्यवस्थापन गरेमा यो ऐतिहासिक पर्वलाई जोगाउन सहज हुने स्थानीयको माग छ ।


Facebook Comments