राजस्व छलीको सामानसहित पिकअप चालक नियन्त्रणमा
मेयरसाप डेस्क
|
२०८२ माघ १८ गते १४:२९
सिन्धुली । बीपी राजमार्ग हुँदै राजस्व छलीका सामान ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले एक पिकअप भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
गत माघ १६ गते राति करिब ९ बजे गोलन्जोर गाउँपालिका–७ स्थित खुर्कोट बजारमा रहेको चेकप्वाइन्टमा खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो ।
प्रहरी सहायक निरीक्षक गिरीराज घिमिरेको कमान्डमा रहेको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बागमती प्रदेश ०१–०२७ च ७२४७ नम्बरको योद्धा पिकअपमा लोड गरिएका विभिन्न सामानहरूको दररेट कम राखी शङ्कास्पद बिल बनाइएको फेला पारेको थियो ।
पिकअप चालक सिन्धुली कमलामाई नगरपालिका–१ बस्ने २० वर्षीय निरोज कोइराला सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद सामान र पिकअपसहित चालकलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको थियो ।
थप कानुनी कारबाही र अनुसन्धानका लागि आज उक्त सवारी साधन र चालकलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments