इरानमा रहेका नेपालीलाई तत्काल फर्कन सरकारको आह्वान

ट्राभल एड्भाइजरी जारी

User Image मेयरसाप डेस्क | २०८२ माघ १८ गते १७:३०
Image of https://mayorsap.com/storage/photos/shares/pararasta.png

काठमाडौं । पश्चिम एसियामा बढ्दो युद्धको बादल र अमेरिका–इरानबीचको चर्किएको तनावलाई मध्यनजर गर्दै नेपाल सरकारले इरानमा रहेका नेपालीहरूलाई तत्काल स्वदेश फर्कन आह्वान गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विशेष ’ट्राभल एड्भाइजरी’ जारी गर्दै इरानको सुरक्षा अवस्था अहिले सामान्य नरहेकाले त्यहाँ रहेका आफ्ना नागरिकलाई जतिसक्दो चाँडो सुरक्षित स्थानतर्फ लाग्न वा नेपाल फर्कन सुझाव दिएको हो ।

मन्त्रालयले इरान भ्रमणको तयारीमा रहेका सर्वसाधारणलाई समेत अहिलेको विकसित परिस्थिति नसुध्रिएसम्म आफ्नो यात्रा पूर्ण रूपमा स्थगित गर्न आग्रह गरेको छ ।

पछिल्लो समय विकसित कूटनीतिक तथा सैन्य द्वन्द्वले इरानभित्रको सुरक्षा वातावरण अनिश्चित बनेको भन्दै सरकारले त्यहाँ रहेका नेपालीलाई आफ्ना राहदानी र अन्य कानुनी परिचयपत्रहरू कुनै पनि बेला प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राख्न सचेत गराएको छ ।

इरान हेर्ने जिम्मेवारी पाएको कतारस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीहरूसँग समन्वय गर्ने प्रयास गरिरहेका छन् । यद्यपि, इरानमा कति संख्यामा नेपालीहरू छन् भन्ने यकिन तथ्यांक नहुँदा उद्धार र सम्पर्कमा कठिनाइ हुनसक्ने देखिएको छ ।

सरकारले परिस्थिति थप जटिल बन्न सक्ने भन्दै इरानमा रहेका सबैलाई आधिकारिक निकायहरूको सम्पर्कमा रहिरहन विशेष अपिल गरेको छ ।


Facebook Comments